logo

२०८३ साउन १४ बिहिबार

चौथो संस्करण केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३ सम्पन्न, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व र संस्थाहरू सम्मानित

चौथो संस्करण केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३ सम्पन्न, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व र संस्थाहरू सम्मानित


हाम्रो राष्ट्र
  • बुधबार, ३ असार २०८३
  • 624
    SHARES

    काठमाडौं । चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३ भव्य रूपमा सम्पन्न भएको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे दुईवटा प्यानल छलफल पनि गरिएको थियो।

    कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। सुदूरपश्चिम विश्वविद्यालयका प्रथम संस्थापक उपकुलपति प्रा. डा. जयराज अवस्थी र प्रसादी एकेडेमीका प्रमुख विक्रम राईलाई ‘शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ उपाधिबाट विभूषित गरियो। त्यस्तै, पिनाकल एकेडेमीका प्रिन्सिपल डा. ऋषी तिवारी, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. भोला थापा र राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याललाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८३’ प्रदान गरिएको थियो।

    यस अवसरमा देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले शैक्षिक नतिजा र समग्र योगदानका आधारमा उत्कृष्ट ठहर्‍याएका संस्थागत विद्यालयमध्ये काठमाडौंको बागबजारस्थित काठमाडौं मोडल सेकेन्डरी स्कुल र डिल्लीबजारस्थित ट्रिनिटी इन्टरनेसनल सेकेन्डरी स्कुललाई सर्वोत्कृष्ट घोषित गरियो। सामुदायिकतर्फ त्रिपुरेश्वरस्थित विश्व निकेतन सेकेन्डरी स्कुललाई सर्वोत्कृष्ट विद्यालयको रूपमा सम्मान गरिएको थियो।

    कार्यक्रममा ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट’, ‘कन्सिस्टेन्ट एकेडेमिक पर्फमेन्स’, ‘इनोभेटिभ टिचिङ प्राक्टिस’, ‘बेस्ट लर्निङ सेन्टर’, ‘डाइनामिक एजुकेसन लिडरसिप’ लगायत विभिन्न श्रेणीमा दर्जनौँ विद्यालय तथा कलेजहरूलाई सम्मान प्रदान गरिएको थियो।

    त्यसैगरी, ‘बेस्ट प्लस टु अवार्ड’ अन्तर्गत प्रसादी एकेडेमी, एनसीसीएस सेकेन्डरी स्कुल, समृद्धि सेकेन्डरी स्कुल, टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुल, मनास्लु वल्र्ड स्कुल, किस्ट सेकेन्डरी स्कुल, मोर्गन सेकेन्डरी स्कुल, काठमाडौं बन्र्हाट सेकेन्डरी स्कुल, पिनाकल एकेडेमी सेकेन्डरी स्कुल, काठमाडौं मोडल कलेज (बालकुमारी), ब्रिजवाटर सेकेन्डरी स्कुल र आईएसटी सेकेन्डरी स्कुल लगायतलाई सम्मान गरिएको थियो।

    प्रदेशगत रूपमा पनि उत्कृष्ट सामुदायिक विद्यालयहरूलाई सम्मान गरिएको थियो। कोशी प्रदेशबाट मोहनमाया सेकेन्डरी स्कुल (झापा), मधेश प्रदेशबाट जनता सेकेन्डरी स्कुल (महोत्तरी), बागमती प्रदेशबाट नारायणी मोडेल सेकेन्डरी स्कुल (चितवन), गण्डकी प्रदेशबाट अमर सिंह सेकेन्डरी स्कुल (कास्की), लुम्बिनी प्रदेशबाट कालिका मानवज्ञान सेकेन्डरी स्कुल (रुपन्देही), कर्णाली प्रदेशबाट राप्ती ज्ञानोदय सेकेन्डरी स्कुल (रुकुम) र सुदूरपश्चिम प्रदेशबाट सेटीगाउँ सेकेन्डरी स्कुल (बैतडी) सम्मानित भएका थिए।

    कार्यक्रममा विदेशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएका विभिन्न शैक्षिक परामर्श संस्थाहरूलाई पनि सम्मान गरिएको थियो। यस अन्तर्गत अल्टिमेट कन्सल्टेन्सी एण्ड एड्भाइजरी नेटवर्क (युक्यान) ले ‘बेस्ट करियर काउन्सिलिङ अवार्ड’, कङ्गारु एजुकेसन कन्सल्टेन्सीले ‘पायोनियर इन अस्ट्रेलियन एजुकेसन अवार्ड’, अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीले ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी यूके अवार्ड’ लगायत विभिन्न देशगत श्रेणीमा अन्य कन्सल्टेन्सीहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend