logo

२०८३ असोज ६ मंगलबार

कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) को छैटौँ वार्षिक साधारणसभा सम्पन्न: प्रस्तावित निर्देशिकाको धरौटी प्रावधानप्रति आपत्ति

कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) को छैटौँ वार्षिक साधारणसभा सम्पन्न: प्रस्तावित निर्देशिकाको धरौटी प्रावधानप्रति आपत्ति


हाम्रो राष्ट्र
  • शनिबार, ६ असार २०८३
  • 6K
    SHARES

    काठमाडौँ । कोरिया शैक्षिक परामर्श संघ नेपाल (KECAN) को छैटौँ वार्षिक साधारणसभा राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल र दक्षिण कोरियाबिचको शैक्षिक सम्बन्धलाई सुदृढ बनाउँदै आएको संघको यस गरिमामय कार्यक्रममा नीतिगत सुधार, व्यावसायिक एकता र राज्यले ल्याउन लागेको नयाँ निर्देशिकाका अस्पष्ट प्रावधानहरूमाथि गम्भीर मन्थन भएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कोरिया शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष विष्णु खड्काले सरकारले ल्याउन लागेको नयाँ नियमावली/निर्देशिकाको मस्यौदामा रहेका कतिपय बुँदाहरू व्यवसायीको हितविपरीत, अमूर्त र अस्पष्ट रहेको भन्दै गम्भीर आपत्ति जनाउनुभयो।

     

    “देशमा परामर्श व्यवसाय, शिक्षा, पत्रकारिता र कानुन व्यवसायले दिने सेवाको प्रकृतिका हिसाबले एकै प्रकारका हुन्। तर, नयाँ ड्राफ्टमा परामर्श व्यवसायीहरूलाई मात्रै लक्षित गरी अव्यावहारिक ढंगले धरौटी राख्नुपर्ने प्रावधान ल्याउन खोजिएको छ, जुन हाम्रो संघलाई कुनै पनि हालतमा मान्य छैन,” अध्यक्ष खड्काले भन्नुभयो। उहाँले यस विषयमा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघमार्फत मन्त्रालयमा संघको तर्फबाट लिखित रूपमै असहमति र स्पष्ट जानकारी गराइसकेको स्पष्ट पार्नुभयो।

     

    शीर्ष नेतृत्व र सरोकारवालाहरूको बाक्लो उपस्थिति

     

    साधारणसभामा मुलुकको आर्थिक, शैक्षिक तथा कूटनीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा वरिष्ठ अर्थशास्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल रहनुभएको थियो।

     

    विशिष्ट अतिथिहरूको आसनमा काठमाडौँ विश्वविद्यालय (KU) स्कुल अफ आर्ट्सका डिन डा. उद्धव प्याकुरेल, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, जापानका लागि पूर्व नेपाली राजदूत नारायण दाहाल, लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५E का पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटवाल, अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारी तथा केक्यानका संस्थापक अध्यक्ष एवं समाजसेवी गणेश शर्मा रहनुभएको थियो।

     

    त्यसैगरी, अतिथिहरूका रूपमा महासंघका वरिष्ठ उपाध्यक्ष शेषराज भट्टराई, प्रकाश पाण्डे, महासचिव उद्धव बहादुर खड्का, विभिन्न भ्रातृ संघसंस्थाका वर्तमान अध्यक्षहरू योगेश छेत्री (IERIN), रमेश देवकोटा (जालसान), अर्जुन बस्नेत (EPCAN), किशोर तिवारी (AECAN), नारायण रेग्मी (NEBA), उमेश कुश्वार (FECON) र हेमन्त भट्टराई (IPP IERIN) लगायतको उपस्थिति थियो। कार्यक्रममा ब्रिटिश काउन्सिल (BC), IDP का प्रतिनिधिहरू, चर्चित सञ्चारकर्मी मनोज गजुरेल, कान्तिपुरका विजय पौडेल, निगरानी दैनिकका जीवन शर्मा, वरिष्ठ लोकगायक घमेश दुलाल, विभिन्न कलेजका सञ्चालक तथा प्रतिनिधिहरू र व्यवसायीहरूको व्यापक सहभागिता रहेको थियो।

    शैक्षिक परामर्श सेवा: व्यवसाय मात्र नभएर विद्यार्थीको भविष्य निर्माण

    साधारणसभामा बोल्दै अध्यक्ष खड्काले शैक्षिक परामर्श सेवा केवल विद्यार्थीलाई विदेश पठाउने माध्यम मात्र नभई उनीहरूको वृत्तिविकास (करियर), शैक्षिक मार्गदर्शन र अन्तर्राष्ट्रिय अवसरहरूसँग जोड्ने एउटा पवित्र र जिम्मेवारीपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभयो। त्यसैले गुणस्तरीय, जिम्मेवार, पारदर्शी र नैतिक परामर्श सेवा प्रवाह गर्नु सबै व्यवसायीहरूको साझा दायित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

     

    पछिल्लो समय नेपाल सरकारका विभिन्न मन्त्रालय र विभागहरूले नीतिगत सुझाव र परामर्शका लागि केक्यानलाई आमन्त्रण गर्ने गरेको स्मरण गर्दै अध्यक्ष खड्काले यसले संघको विश्वसनीयता र संस्थागत क्षमतालाई राज्यले समेत स्विकारेको पुष्टि हुने बताउनुभयो। उहाँले संघको स्थापना कालदेखि यहाँसम्म पुर्‍याउन योगदान दिने संस्थापक नेतृत्व, पूर्व पदाधिकारीहरू र सम्पूर्ण सदस्य परिवाहरूप्रति हार्दिक आभार तथा कृतज्ञता समेत व्यक्त गर्नुभयो।

    आगामी कार्यदिशा: सशक्त र प्रविधिमैत्री संघ

    संघले आगामी दिनमा आफ्ना सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि, सेवाको गुणस्तरमा सुधार, विद्यार्थीको हकहित संरक्षण र नीतिगत पैरवीलाई थप प्रभावकारी बनाउने संकल्प गरेको छ। आपसी सहकार्य र एकताको बलमा संघलाई अझ सशक्त, व्यवस्थित, उत्तरदायी र प्रविधिमैत्री बनाएर नयाँ उचाइमा पुर्‍याउने लक्ष्य साधारणसभाले तय गरेको छ।

    कार्यक्रमको प्रमुख अतिथिका रूपमा वरिष्ठ अर्थशास्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले संघको विकास र बिध्यार्थीहरूलाई सहजीकरण मा केन्द्रित रहेर आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो।

    कार्यक्रमको अन्त्यमा अध्यक्ष खड्काले संघको विकास यात्रामा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्‍याउने सरकारी तथा गैरसरकारी निकाय, सञ्चारमाध्यम र सम्पूर्ण शुभेच्छुकहरूलाई धन्यवाद दिँदै औपचारिक सभाको विसर्जन गर्नुभएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend