सेन्ट जेभियर्स कलेजको पत्रकारिता विभागद्वारा आयोजित ‘मिडियाटक शृङ्खला-४१’ मा बोल्दै नेपालका लागि स्विस राजदूत महामहिम डा. ड्यानियल मेउलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले तथ्य र मिथ्या समाचार (फेक न्युज) दुवैलाई तीव्र रूपमा फैलाउन सक्ने भएकाले युवाहरूमा तथ्य-जाँच (फ्याक्ट-चेकिङ) को ठुलो आवश्यकता रहेको बताउनुभएको छ। “पत्रकार र कन्टेन्ट क्रिएटर: सार्वजनिक भाष्य निर्माणमा पूरक कि प्रतिस्पर्धी?” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा उहाँले लोकतन्त्रको भविष्य सुदृढ बनाउन युवाहरूको आलोचनात्मक चेत र जिम्मेवार सहभागिता महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
छलफलका क्रममा हिमालय टिभी र अनलाइनखबरका ग्रुप एडिटर उमेश चौहानले पछिल्लो समय युवाहरू विस्तृत रिपोर्टिङभन्दा छोटो भिडिओ वा सामग्री (शर्ट-फर्म कन्टेन्ट) तर्फ आकर्षित भइरहेको औंल्याउँदै विद्यार्थीहरूलाई न्यूजरुमको प्रत्यक्ष अनुभव लिन आग्रह गर्नुभयो। अर्का वक्ता, कन्टेन्ट क्रिएटर तथा सांस्कृतिक समीक्षक सुरज सुवेदीले डिजिटल क्रिएटरहरूले पनि आफ्ना पूर्वाग्रहहरूलाई चुनौती दिँदै समाजमा ‘वाचडग’ (प्रहरी) को भूमिका खेल्न सक्ने तर्क राख्नुभयो। कार्यक्रममा कलेजका प्राचार्य फादर डा. अगस्टिन थॉमसले यस किसिमको बौद्धिक बहसको प्रसंशा गर्नुभयो भने मिडियाटकका कोअर्डिनेटर चुनबहादुर गुरुङले एआईको यस युगमा पत्रकार र क्रिएटर दुवैले एकअर्काको पूरक बनेर लोकतान्त्रिक समाजलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend