काठमाडौं: नेपाल प्रजातान्त्रिक महासंघको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो ३:१५ बजे काठमाडौंस्थित माउन्ट धौलागिरी कम्प्लेक्सको सभाहलमा सम्पन्न भएको छ।
महासंघका केन्द्रीय अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलको सभापतित्वमा सम्पन्न बैठकमा प्रवक्ता शिव सिम्खडाले नेपाली कांग्रेसबाट प्राप्त पत्र प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष एकनारायण उपाध्यायले छलफलका लागि विभिन्न प्रस्तावहरू पेश गर्नुभएको थियो।
बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश संयोजक तथा आमन्त्रित केन्द्रीय सदस्यहरूले महासंघका तर्फबाट प्रस्तुत प्रस्तावहरूमाथि आ-आफ्नो धारणा राख्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरेका थिए।
बैठकमा प्रस्तुत प्रमुख प्रस्तावहरू:
१. कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गर्ने।
२. नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विषय।
३. नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनसम्बन्धी विषय।
४. महासंघको सदस्यतासम्बन्धी सातवटै प्रदेशको प्रतिवेदन।
५. राष्ट्रिय सम्मेलन तथा केन्द्रीय महाधिवेशनको मिति निर्धारण।
६. विभिन्न समिति तथा उपसमितिहरू गठन गर्ने।
७. विविध।
बैठकमा प्रस्तुत सबै प्रस्तावहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णयहरू गरिएको महासंघले जनाएको छ।
बैठकले नेपाल प्रजातान्त्रिक महासंघका जिल्ला अधिवेशनहरू यही महिनादेखि सुरु गर्ने तथा प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन २०८३ सालको भदौ महिनामा सम्पन्न गर्ने निर्णय गरेको छ। साथै, सबै पदाधिकारी तथा सदस्यहरूलाई आ-आफ्नो जिल्ला र छिमेकी जिल्लासँग आवश्यक समन्वय गरी अधिवेशनलाई सफल बनाउन आग्रह गरिएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend