काठमाडौं, असार २९ । ललितपुरको नखीपोटमा अवस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको आधुनिक चमेनागृह (क्यान्टिन) को औपचारिक उद्घाटन तथा हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई स्वच्छ र सुरक्षित खाजा घरको व्यवस्था गर्ने उद्देश्यले उक्त चमेनागृह निर्माण गरिदिएको हो।
विद्यालयका प्रधानाध्यापक राजेन राईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त समारोहमा ललितपुर महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत जंग महत र माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. विनोद प्रसाद यादवद्वारा संयुक्त रूपमा चमेनागृहको समुद्घाटन सु-सम्पन्न गरियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. यादव, विशेष अतिथि शिक्षा निर्देशक देवीप्रसाद उपाध्याय तथा विद्यालय निरीक्षक कपिलमणि पौडेलले निजी र सामुदायिक विद्यालयबीचको यस्तो सहकार्यले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र सिकाइ वातावरणलाई थप प्रेरणादायी बनाउने धारणा राख्नुभयो।
सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यार्थीमैत्री वातावरण निर्माणमा अतुलनीय योगदान पुर्याउँदै चमेनागृह सहयोग गर्नुभएकोमा महालक्ष्मी माध्यमिक विद्यालय परिवारका तर्फबाट मुख्य अतिथि डा. विनोदप्रसाद यादवलाई विशेष सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।
सो अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। शिक्षा निर्देशक, विद्यालय निरीक्षक, दातृ विद्यालयका अध्यक्ष, संस्थापक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू र शान्तीदेवी उपाध्यायलाई विशेष सम्मान गरिएको थियो।
उक्त समारोहको सञ्चालन सहायक प्रधानाध्यापक अम्बिका लिम्बु र प्रस्तोताको भूमिका रश्मी बरालले निभाउनुभएको थियो। कार्यक्रममा शिक्षा क्षेत्रका अन्य सरोकारवालाहरू, पूर्व वि.व्य.स. पदाधिकारीहरू र स्थानीय समाजसेवीहरूलाई समेत सम्मान गरिएको थियो भने सभाको समापन अध्यक्ष अमृत जंग महतले गर्नुभएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend