ललितपुर, नेपाली वाङ्मयका आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीको अवसरमा ललितपुरको कुसुन्तीमा अवस्थित माछापुच्छ्रे आईबी वर्ल्ड स्कूलले विद्यालय परिसरमा एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रमको शुभारम्भ विद्यालयका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (CEO) डा. बिनोड प्रसाद यादवद्वारा आदिकवि भानुभक्तको तस्वीरमा माल्यार्पण तथा पूजा–अर्चना गरेर गरिएको थियो। पूजापश्चात् स्वागत मन्तव्य राख्दै डा. यादवले नेपाली भाषा र साहित्यको उत्थानमा भानुभक्तको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो।
उक्त विशेष समारोहमा विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) श्री होमनाथ आचार्य लगायत सम्पूर्ण विद्यालय परिवार तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित विशिष्ट साहित्यकार डा. ध्रुव प्रसाद शर्माले भानुभक्तको जीवनी र नेपाली भाषालाई एकताबद्ध गर्न उनले खेलेको भूमिकामाथि प्रकाश पार्नुभयो। सो अवसरमा डा. शर्माले भानुभक्तका कालजयी कविताहरू वाचन गर्नुभएको थियो, जसमा विद्यार्थीहरूले उहाँको पछि-पछि सामूहिक रूपमा कविता दोहोर्याएर वाचन गर्दै उत्साहपूर्वक साथ दिएका थिए।
कार्यक्रमको समापन गर्दै नेपाली विषय विभागीय प्रमुख (HOD) सुमित्रा सापकोटाले भानुभक्तको साहित्यिक धरोहरलाई जीवन्त राख्नुपर्नेमा जोड दिँदै उपस्थित अतिथि, व्यवस्थापन पक्ष र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend