काठमाडौं । नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित समारोहमा नेक्साले आफ्नो स्थापना दिवससमेत मनाएको हो। ‘Learn, Earn and Return’ अर्थात् विदेशमा सिक, कमाऊ र स्वदेश फर्क भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा विदेशमा अध्ययनबाट हासिल गरेको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा वक्ताहरूले जोड दिए।
नेक्सा अध्यक्ष सन्तोष खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा संसदीय समितिअन्तर्गत शिक्षा उपसमितिका संयोजक गणेश पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। दक्षिण कोरियाबाट पीएचडी पूरा गरी नेपाल फर्किएर विभिन्न क्षेत्रमा स्थापित डा. जीवन खनाल, डा. निरञ्जन कोइराला र डा. विवेक तामाङ विशेष अतिथि थिए। कार्यक्रममा सञ्चारकर्मी, शैक्षिक संस्था तथा परामर्श व्यवसायीका प्रतिनिधि, नेक्साका सदस्य र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै नेक्साका वरिष्ठ उपाध्यक्ष आशिष कुँवरले स्थापना भएको पहिलो वर्षमै संघले आफूलाई सदस्यमैत्री संस्थाका रूपमा स्थापित गर्न सफल भएको बताए। उनले सदस्यहरूको साथ, सहयोग र रचनात्मक सुझावका लागि आभार व्यक्त गरे।
दक्षिण कोरियामा अध्ययन गरी नेपाल फर्किएका डा. जीवन खनालले विदेशमा हासिल गरेको ज्ञान र सीप नेपालमा प्रयोग नगरेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताए। कोरियामा पीएचडी अध्ययनका क्रममा आफूले भाँडा माझ्नेसहित विभिन्न काम गरेको अनुभव सुनाउँदै उनले कुनै पनि श्रमलाई सानो–ठूलो भनेर विभेद गर्न नहुने धारणा राखे। नेपालमा ‘पढ्दै–कमाउँदै’ जस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।
डा. निरञ्जन कोइरालाले विदेशमा अध्ययनका क्रममा भाषा र संस्कृतिको चुनौती पार गर्दै अघि बढेको अनुभव सुनाउँदै नेपाल–दक्षिण कोरिया शैक्षिक सम्बन्धको प्रशंसा गरे। उनले नेपालमा श्रमको उचित मूल्य र जीवनयापनका अवसर सिर्जना गर्न सके विदेशिएका जनशक्तिलाई स्वदेश फर्काउन सहज हुने बताए।
त्यस्तै, डा. विवेक तामाङले विदेश जान रोक्नुभन्दा विदेशबाट प्राप्त ज्ञान, सीप र अनुभव नेपालमा प्रयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार दक्षिण कोरियामा अध्ययन गर्न जाने नेपालीमध्ये ठूलो संख्या अध्ययन पूरा गरेपछि स्वदेश फर्किने गरेको छ। विदेशलाई अवसरको अन्त्य नभई ज्ञान र अनुभव हासिल गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।
नेक्साका सल्लाहकार सिद्धि बरालले विदेशमा अध्ययन तथा रोजगारीका क्रममा नेपालीहरूले भोगेका चुनौती र अधिकारका लागि भएका पहलहरू स्मरण गर्दै विद्यार्थीलाई स्वदेश फर्काउने अभियानमा सरकार, निजी क्षेत्र र शैक्षिक परामर्श क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
प्रमुख अतिथि गणेश पौडेलले विदेश अध्ययनमा जाने विद्यार्थीले गुणस्तरीय विश्वविद्यालयबाट ज्ञान, सीप र अनुभव हासिल गरी स्वदेश फर्किने वातावरण बनाउनुपर्ने बताए। नेपालमै पढ्दै कमाउँदै गर्ने अवसर विस्तार गर्न सके विदेशिने विद्यार्थीको संख्या घटाउन सकिने उनको धारणा थियो। उनले शैक्षिक परामर्श क्षेत्रका सरोकारवालाका सुझावलाई सम्बन्धित निकायसम्म पुर्याउन आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
सभाध्यक्ष सन्तोष खनालले नेक्साको स्थापना, शैक्षिक परामर्श क्षेत्रमा देखिएका चुनौती तथा पहिलो वर्षमा संघले गरेका गतिविधिबारे जानकारी दिए। उनले विद्यार्थी तथा अभिभावकको हितमा संघले काम गरिरहेको उल्लेख गर्दै शैक्षिक परामर्श क्षेत्रलाई नियमन आवश्यक भए पनि अनावश्यक नियन्त्रण स्वीकार्य नहुने स्पष्ट पारे। व्यवसायी, सरकार र अन्य सरोकारवालाबीच समन्वयबाट समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो।
साधारण सभाले महासचिव गणेश बेल्वासेको प्रतिवेदन तथा कोषाध्यक्ष सन्दीप तिवारीको आर्थिक प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा आजीवन तथा साधारण सदस्यहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी संगीता कटवालले गरेकी थिइन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend