काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्क्यान) ले रासुवा लगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले आज काठमाडौँको बागबजारस्थित सल्यान हाउसमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।
इक्क्यानको आयोजनामा तथा लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ एभरेस्ट र लायन्स क्लब्स इन्टरनेसनलको सहकार्यमा आयोजित कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी, इक्क्यानका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका सहयोगीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै इक्क्यानका प्रथम सचिव सुरज सिलवालले विपद्को समयमा रक्तदानको महत्व अझ बढ्ने बताउँदै रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए। उनले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई सहयोग गर्न सबैलाई सामाजिक उत्तरदायित्वका साथ अघि बढ्न आग्रह गरे।
त्यसैगरी, इक्क्यानका द्वितीय सचिव आशिक कार्कीले सम्पूर्ण इक्क्यानियनहरूलाई रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरे। उनले कार्यक्रममार्फत ५०० पोइन्ट रक्त संकलन गर्ने लक्ष्य राखिएको जानकारी दिँदै उक्त लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा इक्क्यानका संयुक्त कोषाध्यक्ष गोविन्द खनालले रक्तदान गर्ने सम्पूर्ण दाता, सहयोगी संस्था, इक्क्यानका सदस्य तथा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले विपद्को समयमा मानवीय सहयोगका लागि शैक्षिक परामर्श क्षेत्र पनि एकजुट भएर अघि बढ्नुपर्ने बताए।
रक्तदान कार्यक्रममा सहभागीहरूले रक्तदानमार्फत विपद् प्रभावित तथा आवश्यकतामा रहेका बिरामीहरूको जीवन बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
इक्क्यानले शिक्षा क्षेत्रमा आफ्नो भूमिकासँगै सामाजिक तथा मानवीय सेवामा समेत निरन्तर योगदान गर्दै आएको सन्देश दिँदै कार्यक्रम सम्पन्न गरेको हो। “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने भावनाका साथ आयोजित यस अभियानले विपद्को समयमा सामूहिक सहयोग र सामाजिक एकताको महत्वपूर्ण सन्देश दिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend