नेपालमा गएको विनाशकारी आकस्मिक बाढीका कारण ३०० भन्दा बढी मानिसको मृत्यु भएपछि युरोपेली सङ्घ (EU) ले प्रभावित समुदायको सहयोगार्थ २० लाख युरो (करिब २८ करोड रुपैयाँ) बराबरको आकस्मिक मानवीय सहायताको घोषणा गरेको छ।
यस रकमले खाद्यान्न, स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा अस्थायी आवास जस्ता अत्यावश्यक क्षेत्रमा तत्काल राहत पुर्याउनेछ। यो सहयोग युरोपेली सङ्घले यसै वर्षको सुरुमा विपद् पूर्वतयारीका लागि नेपाललाई उपलब्ध गराएको करिब ३० लाख युरोभन्दा अतिरिक्त हो। नेपालमा कार्यरत EU का साझेदार संस्थाहरूले विपद् लगत्तै पूर्वभण्डारित आपत्कालीन आश्रय सामग्री र राहत सामग्री वितरण गरी उद्धार कार्य सुरु गरिसकेका छन्।
राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन EU ले एसियाका लागि आफ्ना ‘र्यापिड रेस्पोन्स कोर्डिनेटर’ (द्रुत प्रतिक्रिया संयोजक) खटाउनुका साथै बाढी प्रभावित क्षेत्रको सटीक नक्साङ्कन गर्न ‘कोपरनिकस’ (Copernicus) भूउपग्रह सेवा समेत सक्रिय बनाएको छ। विपद् पूर्वतयारी तथा सङ्कट व्यवस्थापन आयुक्त हादजा लाहबिबले भन्नुभयो:
“सडकहरू बहिएका छन्। गाउँहरू सम्पर्कविहीन भएका छन्। परिवारहरू आफ्ना बेपत्ता प्रियजनको खोजीमा छन्। नेपालको आकस्मिक बाढीले पुराना विपद्बाट सम्हालिँदै गरेका समुदायलाई पुनः तहसनहस बनाएको छ। युरोपेली सङ्घ उनीहरूको साथमा उभिँदै तत्काल स्वास्थ्य सेवा, खाद्यान्न, पानी र आश्रय प्रदान गर्न २० लाख युरो छुट्याउँछ।”
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend