logo

२०८३ साउन १३ बुधबार

धनियाँ बेचेर वार्षिक तीन लाख

धनियाँ बेचेर वार्षिक तीन लाख


हाम्रो राष्ट्र
  • शनिबार, ११ चैत्र २०७९
  • 1.4K
    SHARES

    गलेश्वर । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्छन् । बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गरेका हुन् ।

    कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् । धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउलगायतका तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र एकै मौसममा डेढ लाखभन्दा बढी आम्दानी भएको बताए ।

    हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गरिन्छ । सात सयको बीउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गरेका कार्कीले खेती विस्तार गर्ने योजनामा रहेको सुनाए ।

    म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गरेका छन् । लभ्लीहिलमा आन्तरिक पर्यटकको वृद्धिसँगै कार्कीको कृषिउपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ ।

    लभ्लीहिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताए । “अहिले अरु तरकारी सकिएको छ, तर धनियाँ भने प्रशस्तै छ”, कार्कीले भने ।

    कार्कीले धनियाँको एउटा मुठोलाई २० देखि ३० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको छ भने बाँकी नजिकको बेनी बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend