logo

२०८३ असोज ७ बुधबार

१० के रोड रेसको उपाधि मुकेश र राजपुरालाई

१० के रोड रेसको उपाधि मुकेश र राजपुरालाई


हाम्रो राष्ट्र
  • शनिबार, ११ चैत्र २०७९
  • 3.5K
    SHARES

    काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथौ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् ।

    शनिबार गणेशमान सिंह फाउण्डेसनको आयोजनामा भएको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि र राजपुराले कीर्तिमान बनाउँदै निर्धारित दूरी ३६ मिनेट ४३.२ सेकेण्डमा पूरा गर्दै महिलातर्फको उपाधि जितेका हुन् ।

    राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी हुन् । यसअघि उनको नाममा ३७ मिनेट १०.५ सेकेण्डको कीर्तिमान थियो ।

    दरबारमार्गस्थित शेर्पा मलबाट सुरू भएको पुरुषतर्फको रेसमा एपीएफका गोपीचन्द्र पार्कीले दोस्रो स्थान हासिल गरेका छन् । साविक विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ३८.६८ सेकेण्ड दौड पूरा गरे । यस्तै, तेस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट ४७.४२ सेकेण्डमा दौड पूरा गर्दा आर्मीका सञ्जय श्रेष्ठ चौथो र केन्याका सिमोन किपगेट पाँचौं स्थानमा रहे ।

    यस्तै, महिलातर्फ पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४.१५ सेकेण्डको समय निकाल्दै दोस्रो हुँदा एपिएफकी पुष्पा भण्डारीले निर्धारित दूरी ३८ मिनेट २६.०३ सेकेण्डमा पूरा गरेर तेस्रो भइन् । आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने चौथो र एपीएफकी विन्द्र श्रेष्ठ पाँचौं स्थानमा रहे ।

    प्रतियोगिताको महिला र पुरुष बिजेताले ६० हजार, उपबिजेताले ३० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् । चौथोले १० हजार र पाँचौंले ५ हजार प्राप्त गरेका छन् । कीर्तिमान बनाएकी राजपुराले थप १० हजार प्राप्त गरिन् ।

    विजेता खेलाडीलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाह लगायतले पुरस्कृत गरे ।

    प्रतियोगितामा पुरुष र महिला गरी एक सय भन्दा बढी धावकले प्रतिष्पर्धा गरेका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend