काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि सुरु हुँदैछ ।
रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगिता ७२ होलको हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसन’का अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्यलगायत खेलाडी सहभागी हुने बताइएको छ । नेपालका नम्बर एक खेलाडी शुक्रबहादुर राईले भने प्रतियोगितामा सहभगिता जनाउने छैनन् । उनी हाल भारतमा रहेका छन् ।
प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ६५ हजार, तेस्रोले ४६ हजार, चौथोले ३८ हजार, पाँचौँले ३४ हजार, छैटौँले ३० हजार, सातौँले रु २७ हजार, आठौँले २४ हजार, नवौँले २२ हजार तथा दशौँ स्थान हासिल गर्ने खेलाडीले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend