गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिएका भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएका छन् ।
गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । नेता गान्धीले सोमबार सेसन कोर्टको उक्त सजायविरुद्ध भोलि पुनरावेदन गर्ने उनको पार्टीका वरिष्ठ नेताहरूले बताएका छन् ।
“तल्लो अदालतको आदेशलाई चुनौती दिँदै भोलि सुरत अदालतमा अपील दायर गरिनेछ, राहुल गान्धी पनि त्यहाँ उपस्थित हुनुहुनेछ,” नेता गान्धीको कानुनी समूहका एक सदस्यले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै पिटिआईलाई भनेका छन् ।
उच्च अदालतमा पुनरावेदन गर्न उक्त अदालतले उहाँलाई अवसर दिँदै ३० दिनको लागि सजाय स्थगन गरेको थियो । मानहानी मुद्दामा दोषी ठहर गरेपछि लोकसभा सदस्य रहेका गान्धी विधायकका निम्ति अयोग्य घोषित हुँदै पदमुक्त भएका थिए । बाउन्न वर्षीय गान्धीलाई भारतीय दण्ड संहिता (आइपिसी) धारा ४९९ र ५०० अन्तर्गत अदालतले दोषी ठहर गरेको थियो ।
विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर अदालतले आदेश गरेको हो । सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए ।
नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उहाँविरुद्ध मुद्दा दायर गरेका थिए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend