logo

२०८३ असोज २६ सोमबार

सम्भाव्य युथ मेन्टल हेल्थ समिट २०२६ : युवा आवाज र मानसिक स्वास्थ्य बहस

सम्भाव्य युथ मेन्टल हेल्थ समिट २०२६ : युवा आवाज र मानसिक स्वास्थ्य बहस


हाम्रो राष्ट्र
  • आइतबार, २५ असोज २०८३
  • 637
    SHARES

    काठमाडौं। युवाहरूको मानसिक स्वास्थ्य सुधारका लागि उनीहरूका कुरा गम्भीरतापूर्वक सुन्ने, भावनाहरूको कदर गर्ने र निर्णय प्रक्रिया तथा नेतृत्वमा विश्वास गरेर अवसर प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सामाजिक सञ्जालको अत्यधिक प्रयोग, पुस्ताबीचको बुझाइमा देखिएको अन्तर, सामाजिक दबाब र जीवनमा तत्काल परिणाम खोज्ने प्रवृत्तिले वर्तमान समयमा युवाको मानसिक स्वास्थ्यमा नयाँ चुनौती थपिरहेको उनीहरूको ठहर छ।

    विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर शनिबार काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा ‘सम्भाव्य युथ मेन्टल हेल्थ समिट २०२६’ भव्य रूपमा सम्पन्न भयो। सन् २०१८ देखि विद्यालयस्तरमै आधारित रहेर मानसिक स्वास्थ्यको क्षेत्रमा क्रियाशील ‘सम्भाव्य फाउन्डेसन’ को आयोजना र ‘वाट्सन इन्स्टिच्युट’ को सहकार्यमा आयोजित यस शिखर सम्मेलनको मुख्य नारा ‘जीवन्त अनुभवको सुनुवाइ : वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने रहेको थियो।

    समिटको औपचारिक कार्यक्रम सुरु हुनुअघि बिहान ९:०० बजे साउन्ड बाथसहितको प्रि-समिट गतिविधि तथा महालक्ष्मी स्कुल र मानसिक स्वास्थ्य पेसाकर्मीहरूको सहजीकरणमा विशेष वेलनेस क्याम्प र रेजिष्ट्रेसन सञ्चालन गरिएको थियो। बिहान ११:०० बजेबाट उद्घाटन सत्रको थालनी भयो, जसमा अतिथिहरूको आसनग्रहण, राष्ट्रियगान, परम्परागत पनस प्रज्वलन र युरो स्कुलको तर्फबाट आकर्षक अर्केष्ट्रा प्रस्तुति रहेको थियो। त्यसपश्चात युथ स्पटलाइटअन्तर्गत युरो स्कुल, नेपालका विद्यार्थीको विशेष प्रस्तुति, लियो आकृति निरौलाको मार्मिक कविता वाचन, गाडी चार्जका सहसंस्थापक प्रेशा श्रेष्ठको प्रेरणादायी मन्तव्य र अक्षरा स्कुलको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा डा. दिनेश रिजालद्वारा ‘द यङ् ब्रेन इन ए चेन्जिङ वल्ड– फ्रम न्युरो साइन्स टु लिभ्ड एक्सपिरियन्स’ विषयक ज्ञानवधक प्रस्तुति दिइएको थियो भने स्टेफन र्‍याड्लीले ‘द लास्ट ह्युमन स्किल’ विषयमा मन्तव्य राख्दै लाइभ पोलिङ गराएका थिए।

    समितको मुख्य आकर्षणका रूपमा ‘रिडिफाइनिङ नर्मल : हाउ युथ लिभ्ड एक्सपेरियन्स इज रिराइटिङ मेन्टल हेल्थ इन २०२६ एन्ड बियोन्ड’ विषयक प्यानल छलफल तथा ओपन चेयर संवाद सञ्चालन गरिएको थियो। उक्त उच्चस्तरीय छलफलमा जेसीआई ग्लोबलकी अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा उद्यमी रजानी थापा, साइकोलोजिकल काउन्सिलर डा. आरती चन्द रेग्मी र कान्ति बाल अस्पतालकी कन्सल्टेन्ट मनोचिकित्सक डा. शुभा श्रेष्ठले युवाको मानसिक स्वास्थ्यसँग जोडिएका विभिन्न आयामबारे गहन धारणा राखेका थिए।

    छलफलका क्रममा जेसीआई ग्लोबलकी उपाध्यक्ष रजानी थापाले युवालाई अनुभवहीन वा जिम्मेवारी सम्हाल्न नसक्ने व्यक्तिका रूपमा हेर्ने साँघुरो सामाजिक सोच बदल्नुपर्ने औँल्याइन्। उनले युवामा उच्च क्षमता र नेतृत्व गर्ने इच्छाशक्ति हुँदाहुँदै पनि उनीहरूमाथि विश्वास नगरिँदा आत्मविश्वास कमजोर हुने बताइन्। साइकोलोजिकल काउन्सिलर डा. आरती चन्द रेग्मीले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य एकअर्कासँग अन्योन्याश्रित रूपमा जोडिएको स्पष्ट पार्दै आफ्ना भावनाप्रति सचेत हुन र आत्मस्वीकृति बढाउन आग्रह गरिन्। त्यसैगरी, कन्सल्टेन्ट मनोचिकित्सक डा. शुभा श्रेष्ठले सामाजिक सञ्जालको प्रभाव, पुस्तागत अन्तर र तत्काल परिणाम खोज्ने प्रवृत्तिका कारण किशोरकिशोरीमा देखिने भावनात्मक तथा व्यवहारगत चुनौतीबारे प्रकाश पार्दै अभिभावक र युवाबीचको संवादलाई बलियो बनाउनुपर्ने सुझाव दिइन्।

    कार्यक्रममा सैद्धान्तिक बहससँगै व्यावहारिक सिकाइका लागि रोल प्ले, कनेक्सन, एडभोकेसी एन्ड लिडरसिपसम्बन्धी कार्यशाला र विशेष होप एक्टिभिटीसमेत सञ्चालन गरिएका थिए। दिनभर चलेको उक्त समिटको अन्त्यमा समापन मन्तव्य, सहभागीहरूलाई टोकन अफ लभ वितरण तथा खाजा एवं नेटवर्किङ कार्यक्रमसहित यस वर्षको संस्करण भव्य रूपमा सम्पन्न भयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend