काठमाडौँ।ढाका, बङ्गलादेश सरकारले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १० लाख अमेरिकी डलर (करिब १५ करोड २० लाख नेपाली रुपैयाँ) योगदान गरेको छ। नेपालमा हालै गएको विनाशकारी बाढी र पहिरोपछि सञ्चालित राहत, पुनर्स्थापना तथा मानवीय सहायता कार्यमा सहयोग पुर्याउन यो रकम प्रदान गरिएको हो।
बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबीरले बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्नुभएको थियो।यसअघि भदौ १५ गते (सेप्टेम्बर १) विदेश राज्यमन्त्री कबीरले ढाकास्थित नेपाली दूतावास पुगेर भोटेकोशी बाढी विपद्प्रति शोक व्यक्त गर्दै शोकपुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई एक सन्देश पठाउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुका साथै पीडितहरूप्रति गहिरो संवेदना र सहानुभूति व्यक्त गर्नुभएको थियो।
त्यस्तै, बङ्गलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नेपालमा भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्नुभएको छ। भदौ ११ गते (अगस्ट २७) बङ्गलादेशको संसद्ले बाढीका पीडित र बेपत्ता भएकाहरूप्रति शोक र सहानुभूति प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको थियो।
संसद्मा दिवङ्गत आत्माको चिरशान्तिका लागि एक मिनेट मौनधारण गरी प्रार्थना समेत गरिएको थियो। साथै संसद्ले बङ्गलादेश सरकारलाई यस विपद्को सामना गर्न नेपाललाई आवश्यक सहयोग तत्काल उपलब्ध गराउन आग्रह गरेको थियो। यसै सन्दर्भमा बङ्गलादेशका परराष्ट्रमन्त्री डा. खलीलुर रहमानले भदौ ११ गते आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन वार्ता गर्नुभएको थियो। कुराकानीका क्रममा उहाँले नेपाललाई आवश्यकता अनुसार सम्भाव्य सबै सहयोग गर्न बङ्गलादेश तयार रहेको आश्वासन दिँदै मानवीय सहायता विस्तारका उपायहरूबारे छलफल गर्नुभएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend